जलक्रीड़ा


सुनसान रात
तर पोखिएको छ
जूनको उज्यालो त्यहाँ,
धेरै दिनहरू यता
खोला, नाला, उकाली, नागबेली हुँदै
हिँड़िरहेकी छे यौटी रजस्वला तरूणी
जिल्ला पहाड़हरूको छाती टेक्दै।
पृथ्वीको शालीन मौनता र आकाशको निखुरतामा
नतमस्तक छ पवित्र गुरुदोङमार१ अनि
थप उसलाई आफ्नो सौन्दर्यको
केही घमण्ड।
यतिखेर बेइमानी क्षितिज कहीं कतै देखिएन।
उभिएर देख्छे
सरोवरको पल्लो किनारमा
चाँदीले जड़ित
यौटा पहाड़ ऊतिर झुकेको छ
अनि तल पानीमा
पहाड़को छायाँ ऊतिर बढ़िरहेछ
यता, तलाउको
यो किनारमा उभिएकी छे ऊ
अनि तल पानीमा
निर्वस्त्र उसको छाँया पनि बढ़िरहेछ
सुस्तरी त्यो छायाँतिर
दुवै छायाँ बढ़िरहेछ
यौटा अद्भूत सङ्गमको निम्ति।
जुनेली रातमा, यस्तरी
नियतिले आफ्ना सवोत्कृष्ट सिर्जना
पोखरीमा रच्दै थियो।
अनि त जुर्मुराएर बिउँझन्छन्
युगौंदेखि निष्क्रियशील सुतेका पहाड़हरू
धरती अवाक्
आकाश अवाक्
समयको गति केही क्षणको निम्ति मन्द हुन्छ
तब चराचर जगत्को नित्यक्रम ठप्प हुन्छ
अनि...

१    सिक्किमको पवित्र झील

© Sudha M Rai
Producción de Audio: Goethe Institut, 2016