शब्दहरुको पुनर्वास


शब्दहरुको पुनर्वास

शब्दको सबभन्दा ठुलो शत्रु शब्द नै हुन्छ ।
शब्दहरुको भिड़मा कुन शब्द फिदायीन हो
चिन्न सकिन्न ।

शब्दहरुको भीडमै
पड्किन्छ कुनै शब्द ।
अनि धेरै शब्द मर्छन् ।
धेरै घाइते हुन्छन् ।

स्वतन्त्र जीवन बिताइरहेका शब्दहरुलाई
कुनै चरमपन्थी अर्थले अपहरित गर्छ
र फिरौतीमा माग्छ सिङ्गै चेतना ।

ट्राफिकिङ गरेर बेचिन्छ शब्दहरु
बिज्ञापनका रेडलाइट बस्तीहरुमा ।

आत्मरक्षाका लागि कविता खोज्छन् शब्दहरु ।
भरोसाका वाक्य खोज्छन् ।

कती शब्द दाह–संस्कार नपाएर ्
बाटा–चौबाटोभरि अलपत्र गन्हाइरहन्छन् ।
ठाउँथलाबाट उठिबास लागेपछी
गाउँगाउँ उजाड बन्छ ।

पुस्तकालय, मन्दिर, गिर्जा, गुम्बा, स्कुल
शब्दहरु पसारो परेका छन् जताततै ।

आपदकालीन सभा डाकेका छन् कविहरुले
शब्दहरुको पुनर्वासको लागी ।

© Rajendra Bhandari
Producción de Audio: Goethe Institut, 2016