बजार गरेर


मानिसको जङ्गल अनि अनुहारका ओड़ार ।
समुद्रमा एक्ला–एक्लै मनका जहाजहरु ।
बिचारका बर्मुडा टापुहरु ।
टापुहरु उक्लिरहेका ।
टापुहरु ओर्लिरहेका ।
टापुहरुको बजार ।

(अन्नमय शरीरदेखि आनन्दमय शरीर कति टाढा छ ?)
हिँड्दाहिँड्दै थाक्छु बिनसित्ती ।
मनको काँधमा
इच्छाहरुको झोला,
अतृप्तिका सौदा त्यहाँ हाल्छु ।

(मट्टितेलको लाइनदेखि निर्वाण कति टाढा छ ?)

मासु, चिनी, सर्फ, नानीका भोटा
परिवार–नियोजनको अस्थायी साधन एक खोल,
सब्जी, नयाँ बिज्ञापित साबुन,
खित्रिङमित्रिङ र... र–हरु ।
अनि लाग्छु अस्पातलमुन्तिरको पुस्तकपसलमा
झोलामा हाल्छु आर्नोल्डको नयाँ गीतानुवाद ।

(ब्याङ्क खाता र रक्त्तचापको के सम्बन्ध छ ?)
(के सम्बन्ध छ प्रधानमन्त्रीको पाचनत्र्रिmया र देशको भबिष्यको ?)
(देशको सम्बिधान र अनुहारको चाउरीको के सम्बन्ध छ ?)

बजारबाट
बेलुकी म
डेडहाउसको बाटो
घर फर्कन्छु ।  

© Rajendra Bhandari
Audio production: Goethe Institut, 2016